बंगलादेशमा एकपछि अर्का हिन्दू धर्मावलम्बीको श्रृंखलाबद्ध हत्याको क्रम रोकिएको छैन । १८ दिनयता छैटौँ हिन्दू धर्मावलम्बीको हत्या भएको छ।
पछिल्लो पटक बंगलादेशको नरसिंदी जिल्लामा सोमबार राति एक हिन्दू पसलेको हत्या गरिएको छ। मृतक ४० वर्षीय शरत चक्रवर्ती मणि हुन्। पछिल्ला १८ दिनमा हत्या भएका हिन्दूहरूमध्ये उनी छैटौँ व्यक्ति हुन्।
शरत चक्रवर्ती मणि पलाश उपजिलाको चारसिंदूर बजारमा किराना पसल चलाउँदै आएका थिए। पसलमै अज्ञात हमलाकारीहरूले उनमाथि धारिलो हतियारले आक्रमण गरी फरार भए।
गम्भीर घाइते भएका मणिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
डिसेम्बर १९ मा मणिले फेसबुकमा देशमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै आफ्नो क्षेत्रलाई ‘मृत्यु उपत्यका’ भनेर उल्लेख गरेका थिए।
अस्पताल पुर्याइएपछि चिकित्सकहरूले शरत चक्रवर्ती मणिलाई मृत घोषणा गरेका थिए।