सत्यपथ खबर संवाददाता
चैत्र/०२/२०८२

सिराहा — डोरी तान संघ सिराहाको आयोजनामा नगरस्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता सिराहा सदरमुकामस्थित श्री सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको हो।

डोरी तान संघ सिराहाका अध्यक्ष जितेन्द्र झा (डब्लु)को अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. नवीन यादव सहभागी थिए। त्यस्तै विशिष्ट अतिथिका रूपमा खेलकुद मधेस प्रदेश बोर्ड सदस्य प्रभु नारायण शिवाकोटी, निशेष श्रेष्ठ तथा खेलकुद विकास समिति सिराहाका अध्यक्ष श्रवण ठकुरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा सिराहा नगरपालिकाभित्रका ६ वटा टिमले सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा सिराहा–६ बसबिट्टा प्रथम, सिराहा–७ राज महिसोथा द्वितीय र सिराहा–११ भलुवाही तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
विजेता टिमलाई प्रथम पुरस्कार १५ हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार रुपैयाँ र तृतीय पुरस्कार ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको छ।
कुलततर्फ उन्मुख भइरहेका युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ।