मुस्ताङ । उत्तरी कोरला नाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको हो।
पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरला नाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको छ। कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा आठ–दसवटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेको बताए। भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरला नाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ।
यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो संख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहले छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भइसकेको छ।