काठमाडौं । नेपालमा रेशम उद्योगको पुनर्जागरण र विकासका लागि राष्ट्रिय रेशम सम्मेलन–नेपाल २०२६ आयोजना हुने भएको छ । सम्मेलन आगामी २०२६ जनवरी १० (पुस २६, २०८२) मा काठमाडौं मेरियट होटलमा हुने आयोजकले जनाएको छ ।
सम्मेलन ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपाल (HFMN) नामक गैर–नाफामुखी संस्थाले आयोजना गर्न लागेको हो । सम्मेलन सेरिकल्चर डेभलपमेन्ट सेन्टर, खोपासी, काभ्रेपलाञ्चोकको सहकार्यमा आयोजना हुँदैछ । सम्मेलनका प्रवक्ता तथा HFMN का अध्यक्ष रोशन कुमार पोखरेल रहेका छन् ।
हाल नेपालमा उपयुक्त जमिन, अनुकूल हावापानी, उपलब्ध श्रमशक्ति र समृद्ध ह्यान्डलूम परम्परा हुँदाहुँदै पनि व्यवस्थित रेशम उद्योग सञ्चालनमा आउन नसकेको आयोजकको भनाइ छ । नीतिगत कमजोरी, लगानीको अभाव, पुरानो प्रविधि र कमजोर बजार पहुँचका कारण नेपाल अझै पनि रेशम धागो तथा कपडा आयात गर्न बाध्य रहेको बताइएको छ ।