कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ ।
प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।
अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।
सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ ।