काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता भएको छ । सांस्कृतिक कलाकृति तथा सम्पदाको अवैध ओसारपसार (तस्करी) रोक्न र संरक्षण गर्न द्विपक्षीय सम्झौता भएको हो ।
यो सम्झौता सन् १९७० को युनेस्को महासन्धिअन्तर्गत अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रको नेतृत्वमा स्थापित छ । यो सम्झौताले नेपालको अमूल्य सांस्कृतिक धरोहरलाई अवैध आयात–निर्यातबाट जोगाउँदै लुटपाट भएका वस्तुहरू फिर्ता गर्न सहजीकरण गर्ने र वैध सांस्कृतिक, शैक्षिक तथा वैज्ञानिक आदानप्रदानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ ।
सम्झौताअन्तर्गत धार्मिक वास्तुकलाका अंगहरू, अनुष्ठान तथा पूजाआजामा प्रयोग हुने वस्तुहरू, हस्तलिखित पाण्डुलिपिहरू लगायतका सामग्रीहरू संरक्षित छन् । यस्ता वस्तुहरू अमेरिकामा आयात गर्न नेपाली निर्यात प्रमाणपत्र अनिवार्य हुनेछ ।
यसले सङ्ग्रहालयहरू र संकलकहरूलाई अवैध वस्तु प्राप्त गर्नबाट रोक्न मद्दत गर्नेछ र नेपालको सांस्कृतिक सम्पदालाई मौलिक स्थानमै संरक्षण गर्न योगदान पुर्याउनेछ । यो सम्झौताले सांस्कृतिक पर्यटनलाई पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।