लोक आवाज संवाददाता
१७/माघ/२०८२

लहान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाह को काठमाडौंको मण्डिखाटारस्थित घरमा तोडफोड भएको पाइएको छ। शुक्रबार राति अज्ञात समूहले घरको मुख्य गेट तथा ग्रिल फुटाएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार घरको गेट तथा ग्रिल फुटेको पुष्टि भएको छ। यद्यपि घरभित्र चोरी भएको हो वा होइन भन्ने विषयमा भने फरक–फरक विवरण आएका छन्। केही सञ्चारमाध्यमले घरभित्र प्रवेश गरी सीसीटीभी क्यामरा, डीभीआर लगायतका सामग्री हराएको दाबी गरेका छन्। तर प्रहरी स्रोतले भने हालसम्म कुनै मूल्यवान् सामान चोरी भएको स्पष्ट प्रमाण नदेखिएको जनाएको छ।
प्रहरीले ग्रिल फुटेको बाहेक घरभित्र लुटपाट वा भाँचफोडको संकेत नदेखिएको बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको र घटनाको कारण तथा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरी सक्रिय रहेको जनाएको छ।
घटना भएको समयमा बालेन शाह र उनकी पत्नी घरमा नभएको बताइएको छ। उनीहरू निर्वाचन अभियान तथा अन्य कार्यक्रमका सिलसिलामा काठमाडौं बाहिर रहेका थिए। घर खाली अवस्थामा रहेको बेला घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
यसैबीच सामाजिक सञ्जालमा बालेन शाहको घरमा ठूलो क्षति वा आगजनी भएको भन्दै फैलिएका केही सूचनाहरूलाई प्रहरीले भ्रामक भनेको छ। प्रहरीका अनुसार हालसम्म प्राप्त तथ्यले ग्रिल फुटाइएको बाहेक अन्य गम्भीर क्षतिको पुष्टि गर्दैन।
प्रहरीले घटनासम्बन्धी अनुसन्धान जारी रहेको र आवश्यक प्रमाण संकलनपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।