लोक आवाज संवाददाता,
फागुन /२५/२०८२

बालेन्द्र शाह ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार शाहले चुनाव अभियानका क्रममा कूल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ। चुनाव प्रचारका क्रममा १५ दिनका लागि दुई वटा गाडी भाडामा लिँदा २ लाख ३३ हजार ५ सय रुपैयाँ, पाँच पटक हवाई यात्रामा ३५ हजार रुपैयाँ, तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्चमा २६ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
त्यसैगरी वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ। नमूना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च भएको उल्लेख छ।
चुनाव अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार रुपैयाँ तथा स्टेशनरी खर्चमा २९ हजार ६७० रुपैयाँ खर्च गरिएको बताइएको छ।
यसका अतिरिक्त प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ र प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ।
खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारी ले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन्।