सत्यपथ खबर संवाददाता
चैत्र/१८/२०८२ ,बुधबार

सिरहाको नवराजपुर गाउँपालिका अन्तर्गतका विभिन्न सडकहरू फराकिलो बनाउने तथा स्तरोन्नति गर्ने काम तीव्र रूपमा अघि बढेको छ। विशेषगरी बुधबार नवराजपुर–५ कुशण्डी क्षेत्रमा सडक विस्तार कार्यले गति लिएको देखिएको छ।

यस विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्दा उनले विकास पूर्वाधारको पहिलो आधार नै सडक रहेको बताउँदै सडक सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। “सडक राम्रो भए मात्र शिक्षा, स्वास्थ्य, व्यापारलगायतका सेवा सहज रूपमा सञ्चालन हुन सक्छन्,” उनले भने।

विगत कैयौं वर्षदेखि सडक साँघुरो हुँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा सास्ती खेप्दै आएका थिए। बिरामी पर्दा एम्बुलेन्स पुग्न समेत कठिन हुने अवस्था रहेको स्थानीयहरू बताउँछन्।पालिकाले सुरु गरेको सडक निर्माण तथा विस्तार अभियानले अहिले भने स्थानीयमा आशा र उत्साह थपिएको छ। वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयहरू अब सडक सहज भएपछि दैनिक जीवन धेरै सहज हुने विश्वास व्यक्त गरिरहेका छन्।
स्थानीय महिलाहरू मुस्कुराउँदै विगतका कठिन अनुभव सुनाउँदै अबको दिनमा सहज आवतजावत हुने भन्दै खुशी व्यक्त गर्छन्। सडक फराकिलो बनेसँगै गाउँको समग्र विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।