नेपालगन्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् ।
छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए ।
उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए ।
“छोटी भन्सार सञ्चालन गर्दा इमानदार रूपमा व्यवसाय गर्नेलाई लाभ हुन्छ र अवैध काम रोकिन्छ,” धामीले भने । उनले छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेको बताए ।
नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले विभिन्न नाकाबाट छोटी भन्सार सञ्चालनको माग आए पनि तत्काल सञ्चालन नीति नआएको जानकारी दिए ।
उनले छोटी भन्सारबाट व्यापारमा विकृति भित्रिएको उल्लेख गर्दै बरु भएका भन्सारलाई सुदृढीकरण गरेर लैजाने सरकारको नीति भएको बताए ।