बिबेक परियार,

माघ/०९/२०८२ लहान। सिरहाको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन विशेष अगुवा नेता–कार्यकर्ता भेला सम्पन्न भएको छ।
लहानस्थित जिल्ला उद्योग वाणिज्य संघको सभा हलमा आयोजित उक्त भेलामा पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र यादवले सम्पूर्ण कार्यकर्तालाई उत्साहका साथ निर्वाचन तयारीमा जुट्न आग्रह गर्नुभयो। उहाँले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै भन्नुभयो—
“देश र जनतामाथि संकट पर्दा हामी सधैं निर्भीक रूपमा जनता र देशको पक्षमा उभिँदै आएको इतिहास छ। जनताले यो इतिहास सजिलै भुल्दैनन्। जनता आज पनि हाम्रो साथमा छन्, त्यसैले ढुक्क भएर अघि बढ्नुस्।”
उहाँले जनताको पक्षमा गरिएको दस वर्षे जनयुद्ध, त्यस क्रममा हजारौं सहिदहरूको बलिदान, तथा हालैका जेन्जी आन्दोलनका सहिदहरूको माग स्मरण गर्दै भन्नुभयो—
“यदि जनयुद्ध नभएको भए र हाम्रा हजारौं साथीहरूले सहादत नगरेका भए आज मधेसी, दलित, जनजाति लगायत शोषित–उत्पीडित समुदायको अवस्था कस्तो हुने थियो ? यी सबै कुरा जनताले राम्ररी सम्झेका छन्।”
उहाँले जेन्जी आन्दोलनका मागप्रति पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै भन्नुभयो कि सो आन्दोलनका मागको वास्तविक हकदार नेकपा नै हो। “यो हाम्रो नारा हो, वर्षौंदेखि उठाउँदै आएको मुद्दा ओझेलमा पार्ने काम गरियो, अब हामी रोकिनु हुँदैन, अघि बढ्नुपर्छ,” उहाँले जोड दिनुभयो।
भेलाले आगामी निर्वाचनलाई सफल बनाउन संगठन सुदृढ गर्दै जनतामाझ जाने निष्कर्ष निकालेको छ।